प्यूठान जिल्ला पहाडी क्षेत्रमा अवस्थित सानो जिल्ला भएर पनि जैविक श्रोतले भरिपूर्ण रहेको छ । यहाँ चुरे महाभारत क्षेत्र तथा तल्लो हिमाली भेगमा पाईने वन तथा वन्यजन्तुहरुको वासस्थान रहेको छ । धार्मिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण श्रीखण्डको प्राकृतिक वन यस जिल्लामा स्थापित भएबाट प्यूठानलाई श्रीखण्डको जिल्ला भनेर उपमा दिनी गरेको पनि पाइन्छ । कस्तुरी मृग, चरी वाघ, हुंडार, रातो फ्याउरो, डांफे, मुजुर, चिर, हिले गिद्ध आदिले जैविक विविधता तर्फ थप आर्कषण बढाएका छन् । सामान्यतया मजुर वढीमा २,३०० मिटर सम्मको उचाईमा पाईने भनि अध्ययन अनुसन्धानवाट देखिएकोमा यस जिल्लावाट गरिएको पछिल्लो अध्ययनमा यो ३,२०० मिटरको उचाईमा फेला परेवाट यो जानकारी विश्व समुदायलाई नै नयाँ हुन सक्ने देखिएको छ ।
समग्र राष्ट्रमा भएको वन श्रोतलाई हेर्दा ४४.७४% रहेको छ जवकी प्यूठान जिल्लाको १३१६८९ हेक्टर भू भाग मध्ये करिव ६४,२१८ (४८.७६%) हेक्टर भू भाग वन क्षेत्रले ढाकेको छ । यस हिसावले प्यूठान जिल्ला वन श्रोतको लागि धनी जिल्लाको रुपमा रहको छ । यहाँवाट हुने वन पैदावारको आयात निर्यातको अवस्थालाई हेर्दा न्यून मात्रामा सालको चिरान तथा स्ट्रिप काठ दाङ्ग र कपिलवस्तु जिल्लावाट आयात भएको पाईन्छ । जसलाई वनको दिगो व्यवस्थापनवाट विस्थापित गर्न सकिन्छ । हाल यस जिल्लामा ६ वटा सामुदायिक वन उपभोक्ता समूहमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनको चरणमा रहेका छन् र अन्य साल वनमा यसको विस्तार गर्न सकेको अवस्थामा यस जिल्लामा सालको काठ अन्यत्र जिल्लावाट आयात गर्नु पर्ने अवस्था नआउने देखिन्छ भने समृद्धिको लागि वन भन्ने नारा अनुरुपै यस किसिमको व्यवस्थापनवाट उपभोक्ता समूहको आय श्रोतमा वृद्धि हुने स्थानीय स्तरमा रोजगारी श्रृजना हुने देखिन्छ । समृद्ध नेपाल, सुखी नेपाली सहितको परिकल्पना राष्ट्रले जसरी गरेको छ सोही वमोजिम वन सम्वन्धि कार्यक्रमहरु काठजन्य वस्तुहरुको आयात विस्थापन, आय आर्जन तथा रोजगारी श्रृजना तर्फ लक्षित रहेको छ । वनको दीगो व्यवस्थापन गर्ने, पहिचान भएका गैरकाष्ठ प्रजातीको पकेट क्षेत्र विकास गर्ने, पर्या पर्यटन विकासमा पूर्वाधार निर्माणमा सहयोग गर्ने कार्य यस कार्यालयले गर्दै आएको छ । स्थानीय मानिसको माग तथा वजारलाई ध्यानमा राखी अम्रिसो, दालचिनी, श्रीखण्ड, टिमुर, अलैंचि आदिको वृक्षारोपणमा जोड दिईएको छ । त्यस्तै रिचार्ज पोखरीहरु निर्माण गरी पानीको श्रोत संरक्षण गर्ने अभियान नै शुरु भएको छ । पर्या पर्यटन तर्फ पार्क पिकनिक स्पटको निर्माण कार्यको शुरुवात भएको छ । आगामी दिनमा थप भौतिक पूर्वाधार निर्माण कार्यले पर्या पर्यटन व्यवशायवाट यहांको मानिसहरु लाभान्वित हुने देखिन्छन । यस वाहेक डिभिजन वन कार्यालयले वन्यजन्तु संरक्षण तथा उद्धार, अतिक्रमण नियन्त्रण, चोरी निकासी नियन्त्रण, वन डढेलो नियन्त्रण जस्ता विविध कार्यहरु गर्दै आएको छ ।


राजु क्षेत्री
डिभिजनल वन अधिकृत
डिभिजन वन कार्यालय, प्यूठान