गौमुखीमा पर्यटकिय पूर्वाधारको विकास

झिमरुक नदिको उद्धगम स्थलको रुपमा रहेको गौमुखी धार्मिक तथा प्राकृतिक महत्वले भरिपूर्ण छ । गौमूखी प्यूठान जिल्लाको उत्तरी भेगमा गौमुखी गाउ पालिका वडा नं. २ मा अवस्थित रहेको छ । पर्यटकिय सम्भावना प्रसस्त रहेको गौमूखी क्षेत्र स्वर्गद्धारी पछि प्यूठानको दोस्रो पर्यटकिय गन्तव्यको रुपमा लिन सकिन्छ । अथाह सम्भावना बोकेको यस क्षेत्रको पर्यटकिय पूर्वाधार विकासमा ज्यादै नै पछाडी रहेको देखिन्छ । मगर समूदायको बसोबास रहेको यस क्षेत्रमा पर्यटन विकासका लागि न्यूनतम रुपमा आवश्यक पर्ने वास र खानाको व्यवस्था समेत गर्न सकिएको अवस्था छैन ।

आ.व. २०७६/०७७ मा गौमूखी गाउपालिकासँग समन्वय गरि डिभिजन वन कार्यालय प्यूठान मार्फत करिब ५० लाख रुपैयाको लगानीमा गौमूखी पर्यटन पूर्वाधार विकास गर्ने कार्यको प्रारम्भिक थालनी गर्दै गौमूखी सामूदायिक भवन निर्माण कार्य जारी रहेको छ । गौमुखीमा पर्यटन पूर्वाधार विकासको लागि प्रथम छलफल जिल्ला समन्वय समितीका प्रमुख केशव आचार्यको अध्यक्षता र प्रदेश सभाका सदस्य माननीय हरि रिजालको प्रमुख आथित्यमा डिभिजन वन कार्यालय प्यूठानले २०७६ मंसिर २३ गते खलङ्गामा आयोजना गरेको कार्यक्रम सार्वजनिकरण कार्यक्रमको बेलामा भएको थियो । गौमूखी पर्यटन पूर्वाधार विकास कार्यक्रम छनौट गर्न डिभिजन वन कार्यालय प्यूठानले गौमूखी गाउपालिकामा सरोकारवालसँग २०७६ पौष ९ गते अन्तरक्रिय कार्यक्रम आयोजना गरेको थियो । गौमुखी गाउपालिका कार्यालयमा गाउपालिका अध्यक्ष श्री विष्णु गिरीको अध्यक्षता तथा सोही क्षेत्रका प्रदेश सभा सदस्य माननीय डा. कृष्णध्वज खड्काको प्रमुख आथित्यमा भएको सरोकारवालाहरुको बैठकले गौमूखी सामूदायिक भवन निर्माण गर्ने निर्णय गरेको थियो । उक्त भवन निर्माणको लागि स्थानीय जनताको सक्रियतामा झुमा कुमारी बुढा मगरले ८ आना, गणेश बहादुर पुन मगरले ४ आना, बिजमान घर्ती मगरले ४ आना, खड्क घर्तीले ४ आना गरि कुल १ रोपनी ४ आना क्षेत्रफल भएको जग्गा गौमुखी गाउपालिकालाई निशुल्क उपलब्ध गराउनु भएको छ ।

उक्त सामुदायिक भवन निर्माणका लागि प्रतिस्पर्धाबाट शिव शंकर निर्माण सेवाले ठेक्का प्राप्त गरेको थियो । विश्व भरि महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण ठेक्का छनौट भएको करिब दुई महिना पछि २०७७ वैशाख २१ गते निर्माण ठेक्का सम्झौता भएको थियो । भवन निर्माण शुरु भए पछि डिभिजन वन कार्यालयका इन्जिनियर विमर्श पौडेल, सहायक वन अधिकृत श्याम लोप्चन र रेञ्जर हरि पौडेलबाट पटक पटक अनुगमन भएको थियो । विशम परिस्थितीमा नियमित बर्षाका बावजुत निर्माणको क्रममा रहेको सामूदायिक भवनको कार्य प्रगति अनुगमन गर्न डिभिजन वन अधिकृत राजु क्षेत्रीको नेतृत्वमा, इन्जिनियर विमर्श, कान्तिपुर सम्वातदाता गिरु भ्ण्डारी, पत्रकार टिकाराम पोख्रेल सहितको टोलि २०७७ अषाढ ११ गते निर्माण स्थलमा पुगेको थियो । अनुगमनको क्रममा निर्माण कार्य लगभग ८० प्रतिशत पुरा भएको विद्युत तथा सेनेटरीका सामाग्रीहरु जडान गर्ने क्रममा रहेको, भ्याल ढोका फिटिङ्ग हुदै गरेको, टायल तथा मार्वल लगाउने कार्य बाकी रहेको देखियो । बाटोमा विभिन्न ठाउमा पहिरो गएको हुदाँ सामाग्री ढुवानीमा ज्यादै नै कठिन भएको भन्ने निर्माण व्यवसायीको गुनासो रहेको थियो भने स्थानीय जनताहरु लकडाउनको समयमा पनि आफ्नै घरमा बसि बसि रोजगारी पाएकोमा खुशी देखिन्थे । जग्गादाताहरु समेत आफुले दिएको जग्गामा पर्यटकीय पूर्वाधार निर्माण भएको भोलिका दिनमा पर्यटकिय सम्भावना बढदै जादाँ रोजगारी र आयआर्जनको सम्भावना बढ्ने भन्दै खुशी भएका छन ।

Leave a Reply